

लोकगायक लम्सालको पार्थीव शरीर नेपाल ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमै राखिने

काठमाडौं – लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ ।
मध्यान्ह ल्याइपुर्याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।
प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ । प्रतिष्ठानको युरोप शाखाका संरक्षक समेत रहेका लम्सालको गत फागुन २३ गते निधन भएको थियो । उनी पिसाबसम्बन्धी रोगबाट पीडित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल ‘बले’का बुवा समेत हुन् ।
मौलिक गोकगीतका पुराना कलाकार लम्सालका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् । ‘जापान टोकियो’ उनको सर्वाधिक चर्चित गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झुण्डिएको छ ।