नगरप्रमुख चाैधरीले गरे जनता माविको भवन शिलान्यास



लहान । लहान नगरपालिकाका प्रमुख महेश चौधरीले स्थानीय जनता माविको भवन शिलान्यास गरेका छन् ।

नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको वडा नं. १९ स्थित सोनमति गाढाको जनता माविको चार कोठेको भवनको शिलान्यास गर्दै मेयर चौधरीले विद्यालयको नयाँ भवनबाट विद्यार्थीहरुको पढाईमा थप मद्दत पुग्ने विश्वास लिए ।

शिक्षाको ज्योतिबाट कोही नगरबासी बञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्यसहित नगरपालिकाको ५७ लाख रुपैयाँको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठे भवनबाट विद्यार्थीले भोग्नुपरेको कक्षा कोठाको अभावलाई पूर्ति गर्ने जनाउँदै विद्यालय परिवारको सहयोग पाउने अपेक्षा समेत गरे । उनले विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिँदै लहानदेखि केही टाढा रहेको उक्त विद्यालयबाट स्थानीय जनताले शिक्षा लिन पाउने भएको बताउँदै खुशी समेत व्यक्त गरे ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक अरविन्दलाल दासले नगरपालिकाले विद्यालय निर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै मेयर चौधरीको यस सहयोगले विद्यालयका साथै स्थानीय जनताले थप सुविधा पाउने विश्वस्त लिए ।