रत्नराज्य मावि बानेश्वरको व्यवस्थापन समिति अध्यक्षमा अर्याल



काठमाडौं । काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा युवा समाजसेवी सकुन्दराज अर्याल सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोमबार सो निर्वाचन क्षेत्रका जनप्रतिनिधी, विद्यालयका अभिभावक तथा स्थानीयको एक बृहत भेलाले उनलाई अध्यक्षमा ससर्वसम्मत रुपमा चयन गरेको हो ।

उक्त विद्यालय तत्कालिन महादेवस्थान गाउँ पञ्चायतका स्थानिय समाजसेवी युवाहरुको अग्रसरतामा २०१८ सालमा स्थापित प्रौढ शिक्षालयका रुपमा रहेका थियो जसलाई पछि विस २०१९ सालमा तत्कालीन श्री ५ बडामहारानी रत्नराज्यलक्ष्मी देवीको नाममा शुरुवात गरिएको थियो ।

यो विद्यालय विस २०४३ सालमा यस क्षेत्रकै सामुदायिक विद्यालयको साख राख्दै एस.एल.सी परिक्षामा वोर्ड र्फस्ट र वोर्ड थर्डसम्मको नतिाजा निकाल्न सफल भएको थियो । हाल पनि सो बिद्यालय शैक्षिक गुणस्तर राम्रो भएको सामुदायिक बिद्यालयको रुपमा नाम राख्न सफल छ । रत्न पुस्तकालय समेत रहेको शैक्षिक परिसरबाट शिक्षाप्रेमी युवाहरुले शैक्षिक तथा प्रजातान्त्रिक जागरणको अभ्यास गरेको स्थानका रुपमा समेत सो विद्यायललाई मान्ने गरिन्छ ।

उक्त विद्यालय परिषरमा महाकवि देवकोटाको सालिक छ जहाँ कुनैबेला नेपालका मूर्धन्य साहित्यकारहरु जमघट हुने गर्दथे । साहित्यकार वि.पि कोईरालाबाट महाकवि देवकोटाको उक्त सालिक अनावरण भएको थियो । महाकवि देवकोटा रक्तकोष जस्तो नेपालमा पहिलो पटक संस्थागत रुपमा रक्तदान गर्ने संस्था रहेको परिसरमा विद्यालय अवस्थित छ जहाँ भएको रक्तदानको रगत कुनैबेला भुकम्पबाट पिडित टर्कीका नागरिकसम्म पुगेको थियो । सोही विद्यालयमा आफनो विद्यार्थी उमेरको अधिकांश समय विताएका हालका निर्वाचित अध्यक्ष हुन् सकुन्दराज अर्याल ।

कक्षा ६ देखि १० कक्षासम्म उनले सोहि विद्यालयमा अध्ययन गरेका थिए । एस.एल.सी पछि उच्च शिक्षाको लागि भारतको आन्ध्र प्रदेश गई वाह्र कक्षाको अध्ययन पश्चात अर्याल वेङ्ग्लोर युनिभर्सिटीबाट होटल म्यानेजमेन्टमा स्नातक गरेका छन् । काठमाडौस्थित किङ्स कलेजबाट ब्यवस्थापनमा स्नातकोत्तर समेत गरेका अर्याल होटल म्यानेजमेन्ट विषयमा पोख्त रहेका छन ।

त्रिभुवन विश्वबिद्यालयमा माष्टर तहको ब्यवस्थापन कलेजमा अध्यक्ष भई काम गरेको, प्राविधिक शिक्षा ब्यवसायिक तालिम परिषदबाट सम्वन्धन प्राप्त संस्थामा अध्यक्ष भई शिक्षण सेवा समेत गरेका अर्याल अन्तर्राष्ट्रिय सामाजिक सेवा गर्ने संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको एसिसटेन्ट गभर्नरको भूमिका समेत निर्वाह गरेका छन् ।

युवा उद्यमीका रुपमा रहेका अर्यालले सर्वसम्मत रुपमा बिद्यालयको अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा सवैप्रति आभार प्रकट गर्दै विद्यालयको शैक्षिक गुणस्तरलाई बढाएर लैजाने प्रतिवद्वसमेत गरेका छन् । उक्त विद्यालयमा हाल २२०० विद्यार्थी अध्ययनरत छन् ।