सशस्त्र प्रहरीको पोसाक सुविधामा थप-घट, यस्तो छ संशोधित नियमावली



काठमाडौं । सशस्त्र प्रहरी नियमावली संशोधन गर्दै सशस्त्रका कर्मचारीलाई दिइँदै आएको सेवा–सुविधा घटाइएको छ।

गृह मन्त्रालयले निमायवली संशोधन गर्दै केही सेवा सुविधाहरू कटौती गरिएको हो । प्रकाशित गरिएको राजपत्रअनुसार यसअघि सशस्त्र प्रहरीले पाउँदै आएका लत्ता–कपडामा कटौती गरिएको छ।

सशस्त्रले पाउने जुत्ता, कम्बल, गन्जी, कट्टुका केही सुविधा घटाइएको छ। यसअघि पिट्टी गन्जी–कट्टु एक वर्षमा दुई जोर दिइँदै आएकोमा अब एक जोर मात्रै दिइने भएको छ। कम्बल पनि दुई वर्षका लागि दुईवटा दिने गरिएको अब एउटामात्रै दिनेगरी सुविधा घटाइएको छ।

वरिष्ठ प्रहरी अधिकारीले मात्रै पाउँदै आएका टपबुट भने सशस्त्र अधिकृतले पनि पाउने भएका छन्।

गर्मी र जाडो महिनाको सेरेमोनियल सेट राजपत्रांकित अधिकृतसँगै सेरेमोनियल कार्यक्रममा भाग लिने अन्य सशस्त्र प्रहरी कर्मचारीहरूले पाउने भएका छन्।

कटन प्याडेट युनिफर्म सुटको सट्टा अब हिमाली चुस्ता दिइने भएको छ। हिमाली चुस्ता दुई वर्षका लागि एक जोर दिइने छ। सशस्त्र प्रहरी परिचरका लागि दिइने सामान तथा पोसाकमा कटौती गरिएको छ ।