

विष खुवाएर नातिनी मारेको आरोपमा पक्राउ

कञ्चनपु – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।
बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । “विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौँ”, उहाँले भन्नुभयो ।
मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उहाँले बताउनुभयो । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।