

३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका छन् ।
क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।
पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् । उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।
फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।