‘साँच्चिकै जनताको सेवक बन्ने रहर छ’



पैयूँ गाउँपालिका उपप्रमुखको जिम्मेवारी सम्हालेको चार महिनाको यो अवधिमा तपाईको अनुभव कस्तो रह्यो?

चार महिनाको अवधिमा स्थानिय ऐन नीति बनाउनेदेखि र जनताको सुखदुखमा सिधा साक्षात्कार गर्ने अवसर मिलेको छ । जनताको सुखदुखमा सँगै हुन पाउँदा प्राप्त हुने सन्तुष्टि भन्दा ठूलो खुशी एउटा जनसेवक अनि राजनीतिकर्मीका लागि अरु केहि हुदोरहेनछ भन्ने अनुभूति गरेकी छु । एउटा सिंगो समाजको अभिभावक भएको अनुभूति भएको छ । हिजो एउटा परिवारको अभिभावक थिएँ भने आज सिंगो एउटा स्थानीय सरकारको अभिभावकको रुपमा काम गर्न पाउँदा गर्वको महसुस त हुने नै भयो । एउटा महान जिम्मेबारी बोध भएको छ । चुनौति छन् उत्तिकै सम्भावना र अवसर पनि छन् । काम गरेर देखाउने, समृद्व पैँयूँको सारथी को जिम्मा जनताले दिनुभएको छ, समृद्व पैंयूँको परिकल्पनालाई  कसरी साकार पार्न सकिन्छ भन्ने सन्दर्भमा व्यापक रुपमा विचार, विमर्श, छलफल, सम्पर्क र समन्वय भइराखेको छ । अर्थात जनताको सेवाका लागि प्राप्त भएको ऐतिहासिक अवसरलाई कसरी सार्थक बनाउन सक्छु भन्ने विषयमा मेरो सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।

केहि बर्ष पहिलासम्म राजनीतिमा तपाइँको खास सक्रियता देखिँदैनथ्यो, निकै छोटो समय अवधिमा नै यो राजनैतिक उचाई कसरी सम्भव भयो ?

समय छोटो होस या लामो, राजनीतिमा जनताले अनुमोदन गर्ने कुरा प्रधान कुरा हो रहेछ । हो, राजनीति केहि ढिलो शुरु गरे तर जति गरे पार्टी, संगठन, समाज र जनताको सेवाको हकमा आफुलाई इमान्दारीता एवं निस्वार्थ रुपमा उतारे भन्ने लाग्छ । पार्टीको कामका अतिरिक्त पैँयूको हकमा राजनीतिको मूलधारवाट टाढा जस्तै रहेको बर्गको समावेशीताका लागि पनि मेरो केहि रचनात्मक भूमिका रहयो जस्तो लाग्छ । समाज रुपान्तणको महाअभियानमा पूर्ण प्रतिबद्धताका साथको मेरो लगनशिलता, धैर्यता र समर्पणको प्रतिफल हो भन्ने मलाई लाग्दछ । अर्थात जनतासँगको जीवन्त सम्बन्ध नै तपाईले सोध्नुभएको उचाईको आधार हो कि भन्ने मेरो धारणा हो ।

सामान्य उद्यमी आज स्थानीय सरकारको उपप्रमुख हुँदा समय, स्रोत र जिम्मेबारीका हिसाबले त धेरै अन्तर होलानी ?

निसन्देह अन्तर त भइहाल्छ । समयले कहिले काँही परिवर्तन हुन बाध्य बनाउँछ । जन्मँदै कोहि केहि बनेर जन्मदैन । जो कोहिलेपनि समयक्रममा परिस्थितिले, चेतनाले, जागरणले, सामाजिक एवं राजनैतिक अन्तरविरोध र द्वन्द्वले सत्यको मार्ग पहिल्याउँने हो । तपाईले भन्नुभएको हिजोको गृहणी, सामान्य उद्यमी याम कुमारी पनि यी विविध परिस्थितिसँग ठोक्किदै जाँदा यहाँसम्म आइपुगेकी हुँ । फरक यत्ति हो, हिजो सानो स्थान थियो, आज त्यो दायरा फराकिलो भएको छ । जिम्मेवारीको हिसावमा राज्यस्रोतको सहि ढंगले सदुपयोग गर्ने विषयमा प्रतिवद्ध छु ।

पैयूँका जनताका माग के कस्ता रहेका पाउनुभयो ? समाधान गर्न सक्छ त जनताका यी यावत समस्या पैयूँ स्थानीय सरकारले ?

पैंयुँका जनताको मागका प्रकृति फरक फरक छन् । कोहि कतै आपतकालिन एवं तात्कालिन अबस्थामा राहात होस् भन्ने आशामा हुनुहुन्छ भने कोहि शिक्षा, स्वास्थ्य  कृषिमा गुणस्तर वृद्धिका लागि दीर्घकालिन सोचबाट स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने हुनुहुन्छ । सवै मागको सन्दर्भमा जनता र जनप्रतिनिधिले एकताका साथ काम गर्न सकियो भने  समाधान गर्न नसकिने कुरा छैन ।

जनतामा जनप्रतिनिधीलाई पनि उही जागिरेकै भूमिका भन्दा बढि के गर्लान् र भन्ने ढंगले हेर्ने परिस्थिति पनि बनेको छ, यसलाई चिर्न सक्नुहोला त तपाईहरु ?

जनतालाई केहि नयाँ चिज डेलिभर गर्न नसक्दा यो तपाईले उल्लेख गर्नुभएको यो नजिर बस्ने खतरा चाँही छ । तसर्थ तपाईले भन्नुभएको कुरा आंशिक सत्य पनि हो तर सबै जनप्रतिनिधीलाई यसरी मूल्यांकन गर्नु अलिक न्यायिक हुँदैन कि भन्ने मलाई लाग्दछ । हिजोको भन्दा केहि नयाँ, केहि फरक, जनताले खोजेको, गाउँ ठाउँको वस्तुगत परिस्थितिले माग गरेको सेवा प्रवाह गर्ने सवालमा गम्भीर छौं । जागिरे होइन साँच्चिकै जनताको सेवक बन्ने रहर छ । यो पाँच वर्षमा पैंयूँमा  सुशासन र समृद्विको इतिहास निर्माण गर्ने रहर छ । कुराले होइन काम नै गरेर यो पाँच वर्षमा त्यो प्रमाणित गर्नेतर्फ म इमान्दारीतापूर्वक अग्रसर हुनेछु । कहि कतै बिचलित भएको महसुस जनताले गर्नुभएमा खबदारी गरिरहनुहोला भन्न पनि चाहान्छु ।

महिला हुनुहुन्छ, महिला सशक्तिकरणको विषयमा के योजना बनाउनु भएको छ ?

आजपनि प्रायः महिलाहरु अरुको भरमा निर्भर रहेको देखिन्छ । हामी महिलाहरु कति त अझै घरको चुलोचाैकोमा सिमित छाैं । यसकारण महिलाहरुको सशक्तिकरण जरुरी छ । सशक्तिकरण फेरी नारा मात्र पनि होइन । यो अधिकार प्रत्यायोजन एवं आत्मनिर्भरताले प्राप्त हुने कुरा हो । आत्मनिर्भरताले आत्मसम्मान बढाउँछ । एउटा महिलाले त्यतिबेला मात्र आत्मसम्मान र आत्मगौरबको अनुभव गर्न सक्छिन् जतिबेला उनी आत्मबल, अधिकार, स्रोत र सीपले सुसज्ज्ति हुन्छिन् । त्यसका लागि स्थानीय सरकारको उपप्रमुखको हिसाबले मैले गर्न सक्ने बहस पैरबी गर्ने नै छुँ । त्यसका अतिरिक्त उहाँहरुको नेतृत्व विकास एवं सीपमुलक तालिमका लागि आवश्यक बजेटको व्यवस्थाका लागि योजना पनि बनाएकी छुँ ।

अपांगता भएका नागरिकको आत्मसम्मान बृद्वि गर्ने सवालमा तपाईको योजना के छ?

प्रथमतः अपांगता भएका नागरिकको सवालमा उहाँहरुप्रतिको दृष्टिकोण बदल्नका लागि जागरणको खाँचो देखिन्छ । अझैपनि नेपाली समाजमा अपाङगता भएका नागरिकलाई हेर्ने दृष्टिकोण सामन्ती एबं पूरातन खालको छ । अपाङ्गता भएका नागरिकलाई दोस्रो दर्जाको नागरिकको. रुपमा हेर्ने दृष्टिकोण जो छ, त्यो दृष्टिकोण नभएर दृष्टिदोष हो भन्ने मैले बारम्बार दोहोरयाउँदै आएकी छुँ । अपाङ्गता भएका नागरिकलाई दया, माया र सहानुभूतिले मात्र हेर्ने दृष्टिकोणले उहाँहरुको आत्मसम्मान बढ्दैन । उहाँहरुलाई अधिकारमुखी हिसावले राज्यले व्यवहार गर्नुपर्छ । पैंयूँको स्थानीय सरकारले र म उपप्रमुखको हिसाबले असाध्यै गम्भीर छु । यसका लागि स्थानीय स्रोत र साधनले कति भ्याउँछ, उहाँहरुको हक हितका लागि काम गर्छोै नै । त्यसका अतिरिक्त यो सवालमा अपाङ्गता भएका नागरिकको हक अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थासँग पनि हामी सम्पर्कमा छौं । तत्काललाई भन्नुपर्दा अपाङ्गता भएका नागरिकको अपाङ्गताको प्रकृति अनुसार  वहाँहरुलाई साहयक सामाग्री उपलब्ध गराउने काम भइरहेको छ । साथै वहाँहरुको मनोभावना अनुसार नेतृत्व विकास र क्षमता अभिवृद्विका लागि इच्छा अनुसारका सीपमुलक तालिमका कार्यक्रम आयोजना गर्ने योजना बनाएको छौं ।

तपाईहरु काम भन्दा अलिक बेसी कार्यक्रम उद्घाटनमा व्यस्त जस्तो पनि देखियो, यसले नागरिकको सेवा प्रवाहलाई असर पार्दैन र?

जनताले जसले हिजो मत दिएर बिजयी बनाउनुभयो, उहाँहरुलै नै निमन्त्रणा गरेको कार्यक्रममा हामी आउँदैनौ भनेर कसरी भनौं, यो एउटा नैतिक संकटको प्रश्न पनि रहेछ । जनताबाट हामीले मत दिएर जित्ने आज हामीलाई नै अपमान गर्ने, हामीले श्रदापूर्वक निमन्त्रणा गरेको ठाउँमा नआउने भन्दा के उत्तर दिने ? फेरी बस्ती बस्तीमा जादा जनतासँग प्रत्यक्ष साक्षात्कार र उहाँहरुका आम समस्यालाई नजिकबाट बुझ्ने अवसर पनि मिल्छ । उहाँहरुले आफ्ना ठाउँका, क्षेत्रका समस्याबारे अवगत गराउनु पनि हुन्छ । जनतासँग जिबन्त सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण अवसर पनि उपलब्ध हुन्छ । हरेक विषयलाई नकारात्मक भन्दा पनि सकारात्मक रुपमा पनि हेर्न सकिन्छ । फेरी मेरो हकमा म गाउँपालिकाबाट प्रबाह गरिने सेवा नै अवरुद्व हुनेगरि सहभागी भएकी छैन । समय मिलाएर जनताको सेवामा असर नपर्ने गरि कार्यक्रममा सहभागी भएको छु ।

कस्तो पैंयूँ बन्ला तपाईहरुको यो ५ बर्षे कार्यकालमा?

बनाउने राम्रो पैँयुँ हो । समृद्व पैँयू हो । यसो भनिरहदा तपाई फेरि भन्नुहोला कुराले बन्छ ? म भन्छु, शुरु त सोचबाटै हुने हो, सपनाबाटै हुने हो । सपना देखेका छौं, त्यो सपनालाई साकार पार्न तपाई लगायत सबैको उत्तिकै सहयोगको आवश्यक पर्छ । जनता, नागरिक समाज, तीनै तहका सरकार, देशभित्र तथा देशबाहिर रहनुभएका आम पैँयूँबासी  आमाबुबा दाजुभाइ तथा दिदीबहिनी र संचार जगत सबैको हातेमालो भयो भने हामी हामीले परिकल्पना गरेको समृद्व पैँयूँको मार्गचित्र कोर्न सक्छौं । म त्यसका लागि अपिल पनि गर्दछु । यसका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा स्वार्थमा हामी सबै होमिन सक्नुपर्छ । हामीले राज्यको स्रोतलाई विशेष गरि शिक्षा, स्वस्थ्य र कृषिलाई प्राथामिकता दिने निर्णय गरेका छौं । यो पाँच बर्षमा शिक्षा, स्वास्थ्य र सडकको स्तरवृद्विमा काम गर्नेछौं । कृषिमा पैंयूँलाई आत्मनिर्भर बनाउँदै नमुना पैयूँ बनाउने सपना छ । यसका लागि आवश्यक सल्लाह एवं सुझावका लागि सम्पूर्ण अनुरोध समेत गर्दछु ।