महिलाको सशक्तिकरणका लागि मिलेर अगाडि बढन उपप्रमुख रानाको अपिल



पर्वत । पर्वतको पैयूँ गाउँपालिकाकी उपप्रमुख याम कुमारी रानाले आम महिलाको सशक्तिकरणका लागि महिलाहरु चुलोचौकोमा सिमित नभएर समाज रुपान्तरणको महाअभियानमा होमिन अपिल गरेकी छन् ।

पैयूँ-२ अर्थुनको नव सिर्जना महिला विकास समुहले आफ्नो दशौं बार्षिक साधारणसभा तथा श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रानाले निर्वाचनमा आफुलाई दिएको विश्वासको मतलाई खेर जान नदिने समेत बताईन् ।

रानाले महिलाको हकहित र अधिकारका लागि आफु गम्भिर रहेको बताउँदै स्थानीय सरकारको स्रोतलाई महिलालाई आत्मनिर्भर एवं उनीहरुको आत्मसम्मान वृद्वि हुने खालका कार्यक्रममा लगानी गरिने उल्लेख गरिन् ।

उपप्रमुख रानाले पैयुँका आम महिलालाई आफुले विगतमा हातेमालोचोकमा सिलाई व्यवसाय गरेको स्मरण गराउँदै कुनै पनि काम सानो ठूलो नहुने हुँदा हिनताबोध त्यागेर काममा जुटन समेत अपिल गरिन् ।

हिजोका दिनमा महिलाले तीज, जन्माष्टमी लगायतका पर्वमा पीर बेदनाका गीत गाउने गरेको स्मरण गर्दै उनले चाडपर्वलाई पनि सांस्कृति रुपमा जागरणको माध्यम बनाउन आग्रह गरिन् ।

पैँयूँमा बृहतर सांस्कृतिक लगायतका कार्यक्रम सम्पन्न गर्न सभाहल नभएकोले असुविधा हुने गरेको बताउदै उनले आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्ने सभा कक्ष निर्माणका लागि पहल गरिने बताईन् ।

मौसमको प्रतिकुलताका बाबजुद पनि आयोजक संस्थाले कार्यक्रमलाई व्यवस्थित, भव्य र सभ्य रुपमा सम्पन्न गरकोमा बधाई ज्ञापन गर्दै नाम अनुसार संस्था आगामी दिनमा अझ सिर्जनात्मक एवं रचनात्मक रुपमा अगाडि बढने बिश्वाससमेत उपप्रमुख रानाले सो अवसरमा व्यक्त गरेकी थिईन् ।