रोटरीसँग सहकार्यका लागि महानगर उत्साहितः प्रमुख मर्हजन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिका वातावरण तथा सम्पदा संरक्षणको अभियानमा रोटरी क्लवहरुसँग सहकार्यका लागि उत्साहित रहेको बताएका छन् ।

शनिवार ललितपुरमा ललितपुरभित्रका रोटरी क्लवहरुको साझा सञ्जाल एनआरसिएलद्वारा आयोजित वातावरण तथा सम्पदा संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले विगतमा रोटरीसँग गरेको सहकार्य रचनात्मक रहेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्न महानगर सकारात्मक रहेको बताए ।

ललितपुरका पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण मात्र नभएर दीगोपनाको लागि रोटरीको बिशेष भूमिकाको अपेक्षा आफुले गरेको महर्जनले बताए ।

महानगर प्रमुखको हैसियतले अगिल्लो ५ वर्षको कार्यकालमा वातावरण एवं सम्पदा संरक्षणका लागि खेलेको भूमिकाको चर्चा गर्दै उनले सामाजिक संघसंस्थासँग पूँजी लगानीको अपेक्षा भन्दा पनि सम्पदाको संरक्षण र सम्बद्र्वनको अभियानमा जोडिन अपिल गर्ने गरेको बताए ।

ललितपुर महानगरको सम्पदा संरक्षणको हकमा ढुंगेधाराको पुर्नजागरण अत्यन्तै चुनौतिपूर्ण रहेपनि मृततुल्य ढुंगेधाराहरुमा पानी झार्न सकिन्छ भन्ने बिश्वासका साथ महानगर प्रयासरत रहेको महर्जनले उल्लेख गरे । उनले निकट भविष्यमै ललितपुर महानगरभित्र पर्यटक, अपाङगता भएका नागरिक, ज्येष्ठ नागरिक तथा ८ बर्षभन्दा मुनिका बालबालिकका लागि इबस सञ्चालन समेत गर्ने योजना रहेको बताए ।

कार्यक्रममा MissNepal Earth (2022)  डा. सरिसा श्रेष्ठले वातावरण र सम्पदा संरक्षणका विषयमा आफ्नो धारणा राखेकी थिईन् ।

एनआरसिएलका अध्यक्ष डा तारामान आमात्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरसीएलमा आवद्व १८ वटा क्लव अध्यक्ष एवं बिभिन्न पदाधिकारी तथा रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष तथा पूर्व अध्यक्षहरुले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा अग्नि नियन्त्रकले अग्नि नियन्त्रणका बेला लगाउने फायर फाईटर पीपीई ललितपुर विपद व्यवस्थापन बिभाग तथा महानगरिय प्रहरी प्रमुख सिताराम हाथेछुलाई हस्तान्तरण गरेका थिए ।