नवलपुरमा ढल्यो अर्को कांग्रेसको किल्ला, देवचुली नगरप्रमुख-उपप्रमुखमा एमाले विजयी



कावासोती । नवलपुरको देवचुली नगरपालिका नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले अत्याधिक बहुमतसाथ जितेको यस नगरमा यसपटक गठबन्धन रहँदा पनि नेकपा एमाले विजयी भएको हो ।

देवचुली नगर प्रमुखमा नेकपा एमालेका हरि न्यौपाने विजयी भएका छन् । उनले गठबन्धन दलका उम्मेदवार नेपाली कांग्रेसका अशोक बस्ताकोटीलाई १ हजार ५९६ मतले पराजित गर्दै देवचुली मेयरमा जित हात पारेका हुन् । न्यौपानेले १२८०६ मत ल्याएका थिए भने बस्तोकोटीले ११२१० मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी पार्वता तिवारी विजयी भएकी छिन् । तिवारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनतर्फ माओवादी केन्द्रका सत्यनारायण भुषाललाई फराकिलो मतान्तरले पराजय गरेकी हुन् ।

एमालेकी तिवारीले ४५२१ मतान्तरले भुषाललाई पराजित गरिन् । तिवारीले १२७४९ मत ल्याउँदा भुषालले ८२२८ मत ल्याएका थिए । २०७४ सालमा नगरप्रमुखमा पराजित न्यौपाने दोस्रो प्रयासमा नगरप्रमुख बन्न सफल भएका हुन् भने उपप्रमुख तिवारी लगातार दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

एमालेले ११ वडामा जित हात पारेको छ । एमालेबाट वडा नं. १ कृष्ण बहादुर के. सी., वडा नं. २ शरदप्रसाद घिमिरे, वडा नं. ४ गिर बहादुर थापा क्षेत्री, वडा नं. ५ कृष्ण प्रसाद सापकोटा, वडा नं. ६ मिन बहादुर सोती, वडा नं. ७ भुमिसरा आले, वडा नं. ८ नुनप्रसाद बाचे मगर, वडा नं. ११ तिलप्रसाद काफ्ले, वडा नं. १४ गोपाल थापा, वडा नं. १६ केशवराज गौतम र वडा नं. १७ गणेण शर्मा चालिसेमा निर्वाचित भएका छन् ।

त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसबाट वडा नं. ३ होमनाथ पौडेल, वडा नं.९ बलिराम सापकोटा, वडा नं. १० रेप्ती कुमार घर्ती मगर, वडा नं. १२ लोकप्रसाद भुर्तेल, वडा नं. १३ एकदेव पौडेल र वडा नं. १५ सुरेश कुमार रानाभाट विजयी भएका छन् ।