बहिनीको बलात्कार भएको भन्दै दाजुद्वारा प्रहरीमा उजुरी, बाबु र काका पक्राउ



पर्वत । आफ्नै १६ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा किशोरीका बाबु र काकालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडित किशोरीका दाजुले गरेको उजुरीका आधारमा आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीय बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोह्र वर्षकी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।