निरन्दी खोलाको पक्की पुल बग्यो, बौंदीखोलामा आएको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत 



बौंदीकाली । लगातारको वर्षाका कारण पूर्वी नवलपुरको बौंदीकालीबाट तराई जोड्ने निरन्दी खोलाको पक्की पुल बगाएको छ । बुधबारदेखि सो क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले बौंदीकालीबाट तराईको कावासोती जोड्ने मुख्य मार्ग मानिएको सडकखण्डको निरन्दीखोलाको पुल बगाएको जनाइएको छ ।

बाढीले बौदीकाली गाउँपालिकाको वडा नं. ४, ५ र ६ को लाइफलाइनको रुपमा मानिएको उक्त पुल बगाएपछि बाढीले ध्वस्त गराएको सडक सञ्जाल तहसनहस भएको छ ।

त्यस्तै बाढीले बौंदीखोलास्थित वडा नं. ३ र ४ जोड्ने पुल पनि क्षतिग्रस्त बनाएको उल्लेख गरिएको छ । खेती लगाउनका लागि तयारी अवस्थामा राखिएका खेतहरुमा बाढी पस्नाले यसपटक खेत रोप्न नसकिने स्थानीयहरु बताउँछन् ।

‘०३८ सालमा ठूलो बाढी आएको भनिएको थियो, तर अहिले त्यो भन्दा ठूलो बाढी आयो, सबै अस्तव्यस्त भयो, सडक पहिरोले लग्यो, खेत बाढीले,’ एक स्थानीय गुनासो गर्छन् । यसअघि आएको बाढीले गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसम्म जोड्ने मुख्य सडकखण्ड भिमाद–डेढगाउँ खण्डको कालीगण्डकीको पक्की पुल क्षतिग्रस्त बनाएको थियो । त्यसपछि पूर्णरुपमा बौंदीकाली सडक सम्पर्कबाट बिच्छेद बनेको थियो ।

पछिल्ला दिनमा आएको बाढी पहिरोका कारण मानवीय क्षति हुन नदिनका लागि गाउँपालिकाले स्थानीयलाई सतर्क रहन अनुरोध गर्दै अत्यन्त कष्ट भोगीरहेकाहरुले गाउँपालिकामा खबर गर्न समेत अनुरोध गरेको छ ।