१५ तोला बढी सुनसहित विमानस्थलबाट दुई महिला पक्राउ



काठमाडौं । दोहाबाट काठमाडौं आइपुगेका दुई जना १ सय ८४ ग्राम (१५.७२ तोला) सुनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका-७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका-५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेकी छिन् ।

हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो।

विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा शोभा विश्वकर्माको साथमा १ सय ४ ग्राम (८.८८ तोला) तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र २ थान लकेट फेला परेको थियो ।

त्यस्तै सरिता श्रेष्ठको साथबाट ८० ग्राम (६.८३ तोला) तौलको सिक्री १ थान र बेरुवा औठी १ थान फेला परेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।