इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालय पुग्ने सशस्त्रका जवान निलम्बित



काठमाडौं । इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालयमा गई नेपाल प्रहरीका असईलाई दबाब दिने सशस्त्र प्रहरीका एक जवान निलम्बनमा परेका छन् । आचारसंहिता विपरीत कार्य गरेकोमा सशस्त्र प्रहरी जवान संदिप कुमार साह निलम्बित भएका हुन् ।

उनले सशस्त्र प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको वर्दीमा ईलाका प्रहरी कार्यालय आरुघाटमा पुगी म गोरखा गुल्मको ईन्स्पेक्टर हुँ भन्दै ईलाका प्रहरी कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेका थिए ।

सशस्त्र प्रहरी जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी काठमाडौमा कार्यरत रहेकोमा १० दिन घर विदा स्विकृत गराई विदा गएका थिए ।

गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर ३ थुमी बस्ने १५ वर्षिया सुस्मिता बराम यही फागुन १५ देखि १९ गतेसम्म गोरखा जिल्लाको सदरमुकाममा रनिङ शिल्डको लागि भाग लिन गएको र कार्यक्रम पश्चात घर फिर्ता नभई सोही वडाको श्यामम्राङ बस्ने हिराबहादुर बरामले ललाई फकाई आफुुसँग लगेको भन्ने निवदेन ईलाका प्रहरी कार्यालय आरुघाटमा परेको थियो ।सुस्मिता बरामका बुवाले नाबालिका छोरीलाई ललाई फकाई लैजाने हिराबहादुर बराम उपर कारवाही गरी पाउँ भनि निवेदन दिएपछि दुवै पक्षलाई आवश्यक अनुसन्धानको लागि उक्त प्रहरी कार्यालयमा झिकाइएको थियो ।

सशस्त्र प्रहरी जवान साहले सुस्मिता बरामको बुवा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो, उक्त केशमा आएको हुँ भनि ईलाका प्रहरी कार्यालय आरुघाट पुगेका थिए ।

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको भन्ने बुझिएका उनलाई दज्र्यानी चिन्हसहितको वर्दी दुरुपयोगसमेत गरेपछि सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्वन गरी कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।