डीएसपी गैरेले टपे ‘छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्स’



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्समा प्रहरी नायब उपरिक्षक (डीएसपी) सुरेश गैरे सर्वोत्कृष्ट भएका छन् ।

गत चैतदेखि सुरु भएको १८ महिने कोर्षमा गैरेले सहभागी १० प्रहरी अधिकारीहरु सम्मिलित कोर्समा गैरे उत्कृष्ट भएका हुन् । उक्त कोर्षको समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’बाट पुरस्कृत गरेका थिए ।

त्यस्तै सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ समेत प्रदान गरेकी थिइन् । त्यस्तै उक्त कोर्षअन्तर्गत उत्कृष्ट शोधपत्रको पुरस्कार भने डीएसपी सन्तोषबहादुर सिंहले प्राप्त गरेका छन् ।

२०७८ साल जेठ १६ गतेबाट संचालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), ३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित कुल १० जना जना अधिकृतहरुको सहभागीता रहेको थियो । उक्त कोर्ष एसएसपीद्वय मनीष थापा र कृष्ण ढकाल एसपीहरू दलबहादुर पाण्डे, चेतराज जोशी र प्रमोद कुमार भारती र डीएसपीहरुमा सुरेश गैरे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री,  राधेश्याम धिमाल र सन्तोष बहादुर सिंहले उत्तीर्ण गरेका थिए ।

‘सुरक्षा, विकास र शान्ति अध्ययन’ विषयमा अध्ययन हुने यस कोर्षमा त्रिभुवन विश्वविद्यालयको तहको अध्ययन हो । साथै उक्त अवधिमा संगठनले व्यावसायिक अध्ययन पनि गराउने गरेको छ । त्यसमा विश्व, क्षेत्रीय र राष्ट्रिय महात्वका विषय, सुरक्षासम्बन्धी अध्ययन, विपद व्यवस्थापन, कानुन, विकास, अर्थशास्त्र, परराष्ट्र अध्ययन, द्वन्द्व व्यवस्थापनलगायतका विषय समेटिन्छन् । कोर्ष सकिनुअघि उक्त कोर्षमा सहभागीहरुले हालै ११ दिने लामो भारत भ्रमण गरेका थिए । संगठनको नेतृत्वका लागि आधारभूत कोर्षका रुपमा लिइएको यस कोर्ष सशस्त्र प्रहरी बल नेपालले सन् २०१५ बाट छुट्टै कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको थियो ।

कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको थियो ।

उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

संक्षेपमा सुरेश गैरेः

सांगीतिक दुनियाँमा ‘गैरे सुरेश’को नामले परिचित डीएसपी गैरे यसअघि कोर्षका लागि संगठनले गरेको छनौटमा पनि उत्कृष्ट हुँदै छनौट हुन सफल भएका थिए ।

गैरेका ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’ लगायतका सयौं उत्कृष्ट सिर्जनाहरु नेपाली सांगीतिक बजारमा गुन्जिइरहेका छन् । सांगीतिक क्षेत्रमासमेत थुप्रै अवार्डबाट सम्मानित गैरे व्यावसायिक जीवनमा पनि सफल अफिसरका रुपमा स्थापित हुँदै गएका छन् ।

यसअघि कोरिया, डेनमार्कलगायत कैयौं देशमा सम्पन्न तालिम तथा कोर्षहरुमा संगठनको प्रतिनिधित्व गर्दै पहिचान स्थापित गर्न सफल गैरेले यसअघि अमेरिकाबाट कम्ब्याटिङ टेरोरिजमः पोलीसी एण्ड स्ट्राटेजी’ विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

उनले नेपालबाटै अंग्रेजी साहित्यमा समेत प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् ।