

‘जिउँदा शहीद’ विजय घिमिरेको निधन

पाल्पा । नेपाली कांग्रेसका युवा नेता २०४६ सालको जनआन्दोलनका जिउँदा सहिद विजयराज घिमिरेको निधन भएको छ ।
चार्टड एकाउन्टेन्टसमेत रहेका घिमिरे आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सिफारिस समेत भएका थिए ।
पाल्पा जिल्ला रामपुरका स्थायी बासिन्दासमेत रहेका घिमिरेले २०४६ सालको जनआन्दोलनमा रामपुरको आन्दोलनको नेतृत्व गरेका थिए । रामपुरको आन्दोलनको नेतृत्व विजयले नै गरेका थिए ।
लोकप्रिय नेताका रुपमा परिचित विजय पाल्पाको क्षेत्र नं. १ को निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवार समेत बनेका थिए । २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार रहेका घिमिरे ०७४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए । २०५६ सालमा प्रतिनिधिसभाका उम्मेदवार टंकनाथ काफ्लेको निधन भएपछि घिमिरेले टिकट पाएका थिए ।
५४ वर्षीय घिमिरे पछिल्लो केही समयदेखि क्यान्सरबाट ग्रस्त थिए । उनको बिहीबार साँझ राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ ।