नेपाल र भारतका ३४ रोटरी क्लबबीच बालिका शौचालय निर्माणसम्झौता



काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान र भारतको रोटरी डिस्ट्रिक्ट ३२३२ चेन्नेई अन्तर्गतका ३४ वटा क्लबबीच नेपालमा करिब एक हजारको संख्यामा सामुदायिक तथा सरकारी विद्यालयमा छात्राका लागि शौचालय निर्माणको सम्झौता भएको छ ।

बुधवार काठमाडौंमा आयोजित सम्झौता समारोहमा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२३२ चेन्नेईका डिस्ट्रिक्ट गभर्नर डा. एन नन्दकुमारको उपस्थितिमा दुवै तर्फका २३ वटा क्लबले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने शुक्रवार पोखरामा बाँकी ११ वटा क्लबसँग हस्ताक्षर हुनेछ ।

सम्झौताअनुसार भारतको रोटरी डिस्ट्रिक्ट ३२३२ चेन्नेई अन्तर्गतका क्लबले नेपालका क्लवलाई शौचालय निर्माणको ४० देखि ५० प्रतिशतसम्मको रकम सहयोग गर्नेछन् भने नेपालका क्लवले पनि त्यत्तिकै रकम लगानी गर्नेछन् ।

परियोजना सम्पन्न गर्दा रकम अपुग भएको खण्डमा डिस्ट्रिक्टले उनीहरुलाई थप सहयोग गर्नेछ । दुई देशका दुई रोटरी डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नरकै उपस्थितिमा यति धेरै संख्याका क्लबहरुका विचमा परियोजना सम्पन्न गर्ने सवालमा सम्झौता भएको सम्भवतः पहिलो हुन सक्ने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गर्भनर जितेन्द्रबहादुर राजभण्डारीले बताए ।

गभर्नर राजभण्डारीले यो एउटा ऐतिहासिक शुरुवात भएको र यस्ता परियोजना भोली खानेपानी, वातावरणीय सरसफाईलगायतका रोटरीले प्राथमिकतामा राखेका सातवटै क्षेत्रमा गर्न सकिने बताए । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले  सरकारी तथा सामुदायिक बिद्यालयमा करिव १ हजारको संख्यामा बालिका शौचालय निर्माण गर्ने लक्ष्य राखेको गभर्नर राजभण्डारीले बताए ।

डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नरका रुपमा रहेका गभर्नर राजभण्डारीको बालिका शौचालय निर्माण र बालिका शिक्षाको लक्ष्यमा आफ्नो डिस्ट्रिक्टबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता डिस्ट्रिक्ट ३२३२ चेन्नईका गभर्नर डा. एन नन्दकुमारले व्यक्त गरेका थिए । यो केबल शौचालय निर्माण गर्ने सम्झौता मात्र नभएर दुई देश, दुई सामाजिक संस्था र नागरिकविच भावनात्मक सम्बन्ध विस्तारको ऐतिहासिक क्षण भएको दुवै डिस्ट्रिक्टका गभर्नरहरुले कार्यक्रममा बताएका थिए ।

दुई डिस्ट्रिक्ट र अन्तरक्लवका विचमा  शुरु भएको सहयोग र सहकार्यको परम्परा लामो समयम्म जाने अपेक्षासमेत आफुहरुले गरेको दुवैतर्फका वक्ताहरुले कार्यक्रममा गरेका थिए । रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्सले गरेको इमाजिन रोटरीको परिकल्पना नेपाल र भारतका ३४ रोटरी क्लवविचको सम्झौताबाट पनि पुष्टि भएको बताए ।

‘पहिला कल्पना गरौं, अनि सपना देखौं अनि गरिएको कल्पना र देखिएको सपनालाई भेटाउन त्यही अनुसार अगाडि बढे त्यो कल्पना अनि सपना साँच्चिकै साकार हुन्छ भन्ने जीवन्त उदाहरण आजको यो उपस्थिति अनि यो ऐतिहासिक सम्झौता हो,’ डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले भने । शौचालय निर्माणको परियोजना एक महिनाभित्र शुरु हुनेछ भने सम्पन्न गर्न करिब ४ देखि ६ महिना लाग्नेछ ।