

२ बालिका बलात्कारको अभियोगमा तनहुँका एक युवकलाई १९ वर्ष कैद

दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ ।
तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एकरएक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।
दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए ।
उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए ।
उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।