प्रहरी र प्रविधिः याहु फाइनान्स एपकै आधारमा थुनामा !

इन्टरनेटबाट निःशुल्क रूपमा बिना कुनै कानुनी प्रक्रियामा डाउनलोड गर्न सकिने एप भएकै आधारमा अभियोग लगाइ आरोपित बनाइनु कति न्यायसंगत ?



काठमाडाैं । याहु फाइनान्स एप । विश्वकै चर्चित वेभसाइट याहुडटकमको सिस्टर अर्गनाइजेसनका रुपमा रहेको याहु फाइनान्स एप । जसले आर्थिक समाचार, डाटा र टिप्पणीसहित शेयरबजार उद्धरण, प्रेस विज्ञप्ति, फाइनान्सियल प्रतिवेदनहरु प्रदान गर्दछ । साथै केही व्यक्तिहरुले फाइनान्स व्यवस्थापनका लागि यो अनलाइन प्रयोग गर्न सकिनेछ ।

उक्त एप नेपालमा पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । सो एपकै माध्यमबाट प्रतिबन्धित क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गर्न सकिने कुराको जानकारी याहु फाइनान्स एपको आधिकारिक स्थानमा कहिँ कतै उल्लेख गरिएको छैन । उक्त एप भनेको विश्वबजारमा रहेका स्टक अथवा शेयरहरुमध्ये आफूले चाहेका कम्पनी एवं शेयर कित्तालाई प्रविष्ट गरेर विश्लेषण, प्रक्षेपण र अनुगमन गर्न सकिने एप हो ।

केही समय अघि नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिको मोबाइलमा रहेको याहु फाइनान्स एपकै कारण क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले पक्राउ गरी मुद्दा चलाइ अहिलेसम्म पुर्पक्षका लागि थुनामा राखेको छ ।

तर, ती थिए लामोसमयदेखि क्यानडामा बसी व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी अमित श्रेष्ठ । गत असारमा उनीलाई प्रहरीले क्रिप्टोको बारेमा केही सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो । त्यसपछि श्रेष्ठका साथबाट मोबाइल, ल्यापटपहरु पनि बरामद गरियो ।

बरामद भएका सामाग्रीको अनुसन्धानका लागि अपराध अनुसन्धान विभागले प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परिक्षणका लागि पठायो । उक्त ल्याबले अनुसन्धान वा परिक्षण गरी ती बरामद भएका सामाग्रीहरुमा कुनै पनि क्रिप्टोसम्बन्धी कारोबारमा सूचनाहरु नभएको रिपोर्ट उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंलाई बुझायो । करोडौंको क्रिप्टो कारोबारी पक्राउ परेको भनेर सञ्चारमाध्यममा समाचार छापिइसके पनि नेपाल प्रहरीकै आधिकारिक ल्याबमा भएको परिक्षणमा उनले प्रयोग गर्ने सामाग्रीहरुमा कुनै पनि प्रमाणहरु नभेटिए पछि प्रहरीले निजलाई हुण्डी कारोबार मार्फत् विदेशमा रकम लगी शंकास्पद कारोबार गरेको अभियोग लगायो ।

क्रिप्टो कारोबारको आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिलाई अनुसन्धानमा कुनै प्रमाण नभेटिएपछि प्रहरीले निजलाई अर्कै अभियोग लगाउनुमा भने आशंका उब्जिएको छ ।

सामान्य किसिमको एप, जुन इन्टरनेटमार्फत् बिना कुनै शुल्क र सामान्य तरिकाले डाउनलोड गरी चलाउन सकिन्छ, त्यसैलाई आधार बनाएर लगाइएको अभियोगमा कुनै पनि प्रमाण नभेटिएको प्रहरीकै ल्याबको रिपोर्टमा देखिएको छ । यदि उक्त एपकै आधारमा उनलाई अभियोग लगाइएको हो भने त्यस एपमार्फत हुने कारोबार पुष्टीका लागि नेपाल प्रहरीले थप पहल गर्नुपर्दथ्यो । अन्थया आप्mनो ल्याबमा आएको रिपोर्टलाई आधारमानेर अभियुक्तलाई सफाई दिनमा कुनै ढिलाई गर्नुहुँदैनथ्यो । तर, रिपोर्टमा कुनै प्रमाण नदेखिएपछि अर्कै अभियोग लगाउनुमा प्रहरी पूर्वाग्रहप्रेरित भएको हुनसक्ने देखिएको छ ।

श्रेष्ठमाथि प्रहरीले लगाएको नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको हुण्डी कारोबारीको अभियोग लगाएर दायर गरेको मुद्दामा प्रमाण पनि पेश गर्न सकेको छैन । जबकि हुण्डी कारोबार गर्नेको हकमा राज्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर गर्नुपर्नेमा प्रहरीले उक्त ऐनको भने सहारा लिएको देखिँदैन ।

त्यस्तै श्रेष्ठमाथि अवैध रुपमा विदेशी बैंकमा खाता खोजी कारोबार गरेको अभियोग समेत प्रहरीले लगाएको छ । लामो समयदेखि विदेशमा बसेर व्यवसाय गर्दै आएको व्यक्तिको विदेशी बैंकमा खाता हुनुमा कुनै नयाँ कुरा होइन । अन्तर्राष्ट्रिय विभिन्न कम्पनीहरुसँग व्यापारिक सम्बन्ध रहेका व्यक्तिको बैंक खाता विदेशी बैंकहरुमा हुनु सामान्य रुपमा लिनुपर्नेमा प्रहरी भने श्रेष्ठमाथि कठोर र पूर्वाग्रही भएको हुनसक्ने आंशका पनि गर्न सकिन्छ ।

तर, प्रहरी नियन्त्रणमा आइसकेका व्यक्तिका हरेक पक्षमा अनुसन्धान एवं किनारा लगाउनु प्रहरीको कर्तव्यका साथै दोषी ठहर भएमा सजाय दिलाउनु प्रहरीको दायित्व हो । तर, लामोसमयदेखि लगातार रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउने व्यवसायीमाथि एक्कासी फरक फरक अभियोगबाट अभियोजन गर्दै जानु केही स्वार्थप्रेरित व्यक्तिको उक्साहटबाट संगठन नै प्रभावित बनेको होइन भन्ने प्रश्न गर्न मिल्ने ठाउँ प्रहरीले दिएको छ ।

व्यवसायकै क्रममा श्रेष्ठको अफगानिस्तान एवं दुबईमा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा बैंक खाता रहेको खुलेको छ । श्रेष्ठले दुबइ र अफगानिस्तामा रोजगारी एवं व्यवसाय गरी प्राप्त गरेको आम्दानी नेपाल ल्याएर विभिन्न व्यवसायमा लगानी गरी सम्पत्ति जोडेका हुन् । श्रेष्ठको नेपाल राष्ट्र बैंक अन्तर्गतकै बैंकहरू नविल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकमा खातामा विदेशबाट रकम प्राप्त भएको देखिन्छ । उनको दुबइमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खाताबाट अधिकांश रकम नेपाल भित्रिएको थियो ।

त्यसैले प्रहरीले एक व्यक्तिमाथि गम्भीर प्रकृतिको अभियोग लगाइरहँदा प्रमाण नपुगेपछि निजमाथि सफाइ दिनुपर्नेमा अन्य फरक प्रकृतिको अभियोग लगाएर थुनामा पठाइरहँदा निर्दोषमाथि अन्याय त हुने होइन ?  कि केही स्वार्थप्रेरित अधिकृतकै कारण निर्दोषमाथि दोष थोपरिरहेको त छैन ?

नेपालमा राष्ट्र बैंकले क्रिप्टोको कारोबारमा प्रतिबन्ध लगाएपछि विरोधका आवाजहरु पनि उठ्दै गइरहेका छन् । यसै सन्दर्भमा सर्वोच्च अदालतमा राष्ट्र बैंकको उक्त निर्णयको खारेजको माग गर्दै गरिएको छ । भदौ २ गते अधिवक्ता सागर बरालसहित केही कानुन व्यवसायीहरुले खारेजको माग गर्दै रिट दायर गरेका छन् । उक्त रिटको गत सोमबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इजलामा पेसी तोकिए पनि समयाभावका कारण ‘हेर्न नभ्याइने’मा गएको थियो ।