सुनिल र अनुको रोमान्समा ‘मायाले बाँधेर त हेर’ सार्वजनिक
काठमाडौं – समिप इन्टरटेनमेन्ट प्रा.लि.ले नयाँ गीत ‘मायाले बाँधेर त हेर’ नामको गीत बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित एक विशेष समारोहबीच कम्पनीले उक्त गीतको भिडियो सार्वजनिक गरेको हो ।
कम्पनीकी अध्यक्ष मीना बर्तौलाको अध्यक्षतामा सम्पन्न म्युजिक भिडियो सार्वजनिक कार्यक्रम बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि सिंहले समिप इन्टरटेनमेन्टको पहिलो प्रस्तुति ‘मायाले बाँधेर त हेर’ लाई विशेष शुभकामना दिँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेकोमा कम्पनीकी अध्यक्ष बर्तौलालाई शुभकामना रर धन्यवाद समेत ज्ञापन गरेका थिए । ‘नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सिर्जनाका साथ प्रवेश गरेको कम्पनीले संख्यात्मक भन्दा गुणात्मक सांगीतिक सिर्जनाहरु प्रस्तुति गरोस्,’ सिंहले भने । सिंहले भिडियोमा अभिनय गरेका सुनिल र अनुको जोडी ज्यादै सुहाएको बताउँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट गीतहरुमा यो जोडीलाई देख्न पाइनेमा आशावादी रहेको समेत उल्लेख गरे ।
त्यसै उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा बरिष्ठ गायक एवं संगीतकार यम बराल, संगीत व्यवसायी ईश्वर गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै गायक एवं संगीतकार बरालले गीतको भिडियो निकै उत्कृष्ट बनेको बताउँदै आगामी अनु र सुनिलको जोडी ज्यादै जमेको समेत बताए ।
कार्यक्रममा संगीत व्यवसायी गुरुङले आफ्नो लामो अनुभवमा पहिले भन्दा पछिल्ला दिनमा सांगीतिक क्षेत्रमा होमिएका व्यवसायीलाई केही हदसम्म भए पनि सजिलो भएको अनुभव आफूले गरेको बताए । तर नयाँ व्यवसायीहरुले सिर्जनाको उत्कृष्टतासँगै प्रविधिलाई पनि भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए । ‘सिर्जना राम्रो मात्रै भएर पनि हुँदैन, त्यसको प्रस्तुतीकरण र बजारीकरणलाई पनि व्यवसायीले ध्यान दिनुपर्छ,’ गुरुङले भने ।
नेक्सन लोहनी र प्रविशा अधिकारीको स्वरमा रहेको ‘मायाले बाँधेर त हेर’ गीतमा सुनिल न्यौपाने, अनु शाह र बालकलाकारका रुपमा समिप न्यौपानेले अभिनय गरेका छन् ।
सुन्दर नगरी पोखरा आसपासमा म्युजिक भिडियोको छायांकन गरिएको निर्देशक दिलीप समनले जनाए । समनमा शब्द र संगीतमा रहेको उक्त गीतको एरेन्ज र मिक्सिङ शैलेन्द्र प्रधानले गरेका थिए । इशा शाह ठकुरीले कोरियोग्राफी गरेको म्युजिक भिडियोको निर्मात्रीका रूपमा मिना बर्तौला रहेकी छिन् ।
उक्तअवसरमा गायिका अधिकारी र मोडल शाहले गीत तयारीका अवसरमा भोगेका अनुभवहरू पनि शेयर गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्षता गरिरहेकी बर्तौलाले सांगीतिक क्षेत्रमा पहिलो पाइला चालेको बताउँदै आगामी दिनमा छुट्टै पहिचान बनाउँदै व्यावसायिक रुपमा भन्दा पनि कला र संगीतकर्मीहरुलाई केही राहात मिलोस् भन्ने आफ्नो योजना रहेको बताइन् । साथै बर्तौलाले आफ्नो कम्पनीमार्फत् बजारमा आएका सांगीतिक कोसेलीहरुको आम्दानीको केही भाग समाज सेवामा खर्चिने पनि प्रण गरिन् ।
समिप इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत् बजारमा ल्याएको बताउँदै बर्तौलाले समस्त दर्शक एवं स्रोताहरूको माया पाउने विश्वास लिएको समेत बताइन् ।