

निर्वाचन आयोगमा दर्ता सुरु, १ नम्बरमा सिके राउतको जनमत पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगमा आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।
आयोगले सरकारद्वारा घोषित निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गरेसँगै राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरु गरेका छन् ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।