कालीगण्डकी करिडोरअन्तर्गत बुलिङमा सुख्खा पहिरो, ५ को मृत्यु, २ घाइते



नवलपुर । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ खसुवा ढिक भन्ने स्थानमा बुधबार साँझ साढे चार बजे सुख्खा पहिरो गएको गाउँपालिकाका सूचना अधिकारी सागर भट्टराईले बताए ।

सडक निर्माणका क्रममा ७ जना मजदुरहरूले जालीमा ढुंगा भर्दै थिए। अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धार गरे पनि ५ जना पहिरोमा परेको भट्टराईले बताए।

पहिरोमा परी मृत्यु हुने सबै बुलिङटार वडा नम्बर ४ का रहेका छन्। मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ।

घाइते दुई जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गतको पूर्वी नवलपरासीको गैंडाकोटदेखी पाल्पाको राम्दीसम्म १ सय ३२ किलोमिटर सडक निर्माण हुने क्रममा रहेको छ । उक्त सडकखण्ड आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण कार्य भईरहेको जनाइएको छ ।