अस्ट्रेलियाका नाबालक दाजुभाईले राखे सगरमाथा आधार शिविर पुग्ने विश्व कीर्तिमान

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेर अस्ट्रेलियाका दुई दाजुभाईले विश्व कीर्तिमान कायम गरेका छन् ।

नेपाल हाइकिङ टोलीका प्रबन्ध निर्देशक गंगाराज थापाका अनुसार अस्ट्रेलियाका दुई बालकहरु तीन बर्षीय जाचरी किङ्स एलेन र पाँच वर्षीय ग्याब्रियल रोबर्ट एलेनले सगरमाथाको आधार शिविर ५,३६४ मिटरको उचाईमा हाइकिङ गर्न सफल भएका छन् ।

उनीहरुले यतिधेरै उचाइमा हाइकिङ गरेर कीर्तिमान कायम गरेका थापाले बताए । ग्याब्रियलले नेपाली हाइकिङ टोलीको सहयोग बिना नै हाइकिङ गरेर आधार शिविर पुगेका थिए ।

उनका भाईले नेपाल हाइकिङ टोलीको सहयोगमा आधार शिविर पुगेका हुन् । ग्याब्रियल लुक्लादेखि नै हिंडेर आधार शिविर पुग्न सक्नुमा १८ महिनासम्म हरेक सप्तान्तमा आरोहण तालिम लिनु पनि भएको थापाको भनाई छ । चार वर्षको हुँदा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने बताए पनि पाँच बर्षको उमेरमा आधार शिविर पुग्न सफल भएका छन् ।

ग्याब्रियलले सन् २०२१ को नोभेम्बरमा अष्ट्रेलियाको अग्लो पिक पनि आरोहण गरिसकेका छन् । सगरमाथा आधार शिविर आरोहण गर्नु ग्याब्रियलको लक्ष्यमा पुग्ने पहिलो पाइला भएको बताउँदै थापाले उनीहरुका बुबाआमा ग्राहम डेभिड एलेन र सेरेन एनी पोटे कालापत्थर पुगेका बताए ।

ग्याब्रियलको सगरमाथा आरोहण गर्ने सपना पनि रहेको उनले जानकारी दिए । थापाले भने, ‘आफ्नो अभियानमार्फत गरिबी र आधारभूत सुविधाहरूको अभावमा परेका तेस्रो विश्वका बालबालिकाहरूलाई सहयोग गर्ने गेब्रियललेको सोच रहेको छ।’ ग्याब्रियल अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेको मदर अफ गुड काउन्सिल स्कूलका विद्यार्थी हुन्। उनीहरु लुक्लाबाट काठमाडौं आई स्वदेश फर्किसकेका छन् । उनीहरु अप्रिल ८ तारिखमा नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *