

महिलाको घाँटी रेटी हत्या गरेको आरोपमा काभ्रेका दुई जना पक्राउ

भक्तपुर । भक्तपुर नागपोखरी बस्ने एक महिलाको चक्कुले घाँटी रेटी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का कुमार लामा र भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवासका नवराज रिजाल रहेका छन् ।
उनीहरुले काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी ठेगाना भएकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।
चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको थियो ।
भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।