नेपाली सेनाकी सीता र बागमतीकी शिक्षालाई स्वर्ण



काठमाडौं । प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला ईपीतर्फको खेलमा सेनाकी सीता पाठकले स्वर्ण प्राप्त गरेकी छन् ।

त्यस्तै बागमती प्रदेशकी शिक्षा नापितले महिला व्यक्तिगत सावरतर्फ स्वर्ण हात पारेकी छन् ।

नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५- ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ र नेपाली सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए ।

महिला ईपीतर्फको खेलमा सेनाकी सीता पाठकले स्वर्ण प्राप्त गरेकी छन् । उनले एपिएफकी जानुका स्याङतानलाई १५-१२ अकंका साथ हराएकी हुन् । तेस्राे स्थानमा एपिएफकी अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा बागमती, सुदूरपश्चिम, गण्डकीसँगै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका १ सय १४ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।