

कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामा आज (बुधबार) बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेको जनाइएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।
डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, लाउरे गगनको, पानीमुनि घुमाउने साँचो, मुलाको चाना लगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।