

श्रीमान् १० वर्षदेखि विदेश हुँदा जन्मिएको शिशु हत्या गर्ने आमा माधवी पक्राउ

बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।
माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।