४७ वर्षदेखि आफन्त खोज्दै भीमबहादुर



बैतडी । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाएका छैनन् । बाल्यकालका धमिला सपना बोकेर उनी अहिले आफन्त सम्झेर रोइरहेका छन् । २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताए । “बाल्यकालमै सडकमा छुटेँ,” उनले भने, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”

दशरथचन्द नगरपालिका–४, कठपतेमा स्थानीयको एक घरमा आश्रय लिएका उनलाई खोजी गर्न कोही नआएको पीडा सुनाए। दाउरा बेच्न बैतडी सदरमुकाम पुगेका भीमबहादुरले आफ्नो घरको ठेगाना र आफन्तको नाम थाहा नभएको बताए । उनले आफन्तले छाडेर गएको सडक किनारकै एक स्थानीयको घरमा काम गरेर जीवन बिताइरहेको पीडा सुनाए । उमेरले वृद्ध देखिने भीमबहादुर अविवाहित हुन् । दाउरा बेच्न सदरमुकाम आउँदै गरेको अवस्थामा भेटिएका भीमबहादुर जाडोले कामिरहेका थिए ।

“आमाको अनुहार सम्झना छैन । सायद म सानै छँदा बित्नुभयो कि ? बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् । मलाई किन यतै छाडेर जानुभयो ? केही थाहा छैन । खोजी गर्न कसैले सहयोग गरेनन् । मजदुरको आफ्नो भन्ने कोही नहुने रहेछ,” आँखाका डिलबाट चाउरी परेका गालामा आँसु खसाल्दै उनले भने । उनले आमाबाबुका बारेमा बेखबर भएकाले हालसम्म नागरिकता पनि बन्न नसकेको गुनासो गरे। “आफ्नै देशमा अनागरिक भएको छु । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै छु,” उनले भने ।

भीमबहादुरका बारेमा स्थानीय अमृत ठगुन्नाले होटलमा खाएको उधारो तिर्न नसक्दा भीमबहादुरका आफन्तले पैसा लिएर आउँछु भनी छाडेर गएको बताए । उनले भने, “२०३२/३३ सालको कुरा हो । कठपतेबाट बैतडी सदरमुकामको सडक खन्ने काम भइरहेको थियो । ठेकेदारले दाङबाट कामदार ल्याएका थिए । उनीहरू सडकमै बसेर काम गर्थे । ती मजदुर सडकको काम सकेर फर्केपछि भीमबहादुरलाई छाडेर गएका हामीले थाहा पायौँ । त्यसपछि भीमबहादुरलाई स्थानीय पाण्डेयले आश्रय दिएका हुन् ।” -गोकर्ण दयाल/गोरखापत्र