‘गण्डकी प्रदेशमा लकडाउन गर्नुपर्ने अवस्था छैन’



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा आज फोनिज गण्डकीले आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार, अक्षयकोष घोषणा तथा पुरस्कार वितरण’ समारोहमा उनले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए ।

प्रदेश सरकारले आफ्नै साधन स्रोतबाट कोरोना व्यवस्थापन गरेको बताउँदै मुख्यमन्त्रीले भने,, “लकडाउन फेरि लगाउनुपर्दछ भन्ने अवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन, खोलिसकेको कलकारखाना, निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्र्नु पनि हुँदैन । हामी सचेत होऔँ त सङ्क्रमण धेरै कम हुन्छ ।”

सत्तारुढ नेकपाका स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री गुरुङले कोरोना भाइरससँग लडिरहेको अवस्थामा अहिले पार्र्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे । जनताको बीचमा स्थायित्वका लागि गरेको बाचा पूरा गर्न र हालसम्म कुनै पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको विगतबाट पाठ सिक्दै इतिहास निर्माणका लागिसमेत पाँच वर्ष दायाँ÷बायाँ गर्न नहुने उनको भनाइ छ ।

कोभिड–१९ का कारण समस्यामा परेका पत्रकारलाई प्रदेश सरकारले कुनै पनि सहयोग गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले चालू वर्षमा पत्रकारको सशक्तीकरणका लागि रु ६५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । गण्डकी प्रदेश पर्यटनको मात्र राजधानी नभई यहाँको पत्रकारितासमेत राम्रोसँग चलेको छ भन्ने सन्देश दिनुपर्ने खाँचो उनले औंल्याए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले पत्रकार महासङ्घसँग मिलेर सञ्चारसँग सम्वन्धित कार्यक्रम कार्यान्वयन गरिने र पत्रकारको क्षमता विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।