

नेपाली सेना बन्यो लिदी पहिरो पीडितको अस्थायी घर निर्माणमा मल्हम

सिन्धुुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरो पीडितले घर गुमाएको करिब एक वर्षपछि अस्थायी आवास पाएका छन् । नेपाली सेनाले लिदीबासीको पहिरोको घाउमा मल्हम लगाइदिएको हो । विभिन्न निकायहरुले पुर्नर्निमाणको आश्वासन दिए पनि शान्ति सुरक्षाको मूलमन्त्र बोकेको नेपाली सेनाले स्थानीयको चहराइरहेको घाउमा मल्हम लगाइदिएको हो ।
नेपाली सेनाले लिदीबासीका लागि अस्थायी आवास निर्वाचनका लागि विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा नेपाली सेनाको गोरखबक्स गण र कालीसिद्धि गणमा कार्यरत सेनाहरुले अस्थायी आवास निर्माण गरि दिएका हुन् ।
सभामुख, राष्ट्रिय पुनिर्निर्माण प्राधिकरण, स्थानीय सरकारलगायत विभिन्न निकायले आश्वासन मात्रै दिएको लिदी पहिरो पीडितका विस्थापितले करिब एक वर्षपछि अस्थायी आवास पाएका हुन् ।
उक्त पहिरोमा परी ३९ जनाले ज्यान गुमाएका थिए । अस्थायी आवास निर्माणका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहल गरेको थियो । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो । पहिरो गएदेखि प्रभावितहरुको टेण्ट र पालमा जीवन गुजार्न बाध्य थिए ।
बस्ती बसाल्ने भन्दै सभामुख अग्नीप्रसाद सापकोटा पटक पटक विस्थापित शिविर पुगेका थिए । सापकोटा सँगै पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि बाँसखर्क पुगेका थिए । विस्थापित शिविरमा पुगेर पटक पटक सापकोटाले नमूना मोडल बस्ती बसाउने भनेर सपना बाँडेको स्थानीय सुनाउँछन् ।पछिल्लो पटक शिविरमा पुगेका सापकोटालाई पीडितहरुले आश्वासन मात्रै बाँड्न तपाईंहरु यो शिविरमा नआउँदा हुने समेत भनेका थिए ।
विभिन्न निकायले घर बनाइदिने आश्वासन दिएपनि विस्थापितलाई नेपाली सेनाले अस्थायी आवास निर्माण गरिदिएको हो । ५१ सेनासहित प्राविधिक आवास निर्माणमा खटेका थिए । उनीहरु गोरखबक्स गण र कालीसिद्धि गणमा कार्यरत सेना हुन् । आवास निर्माणका लागि आवश्य सामग्री विभिन्न संघ, संस्थाले उपलब्ध गराएको हो ।
७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ वटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
आइतवार लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं। बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भए । ‘पालको बसाई निकै कष्टकर थियो,’ पासाङ लामाले भने, ‘हिँउदमा हिउँको सिरेटो र बर्खामा पानीले भेलले निकै सताउँथ्यो ।’ उनले अहिले जस्ताको घरमा बस्न पाएपछि केही राहत भएको सुनाए ।
जस्ताको मात्रै टहरा भएपनि समस्या झेलिरहेका सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई केही सहज पुग्नेछ । पहिरोमा आमा र दाजु गुमाएकी पीडित सरु दोङले टेण्टमा बस्दा निकै समस्या भएको सुनाइन् । ‘टेण्ट उडाउला भन्ने चिन्ताले पिरोल्थ्यो,’ उनले भनिन्, ‘टेण्टमा पानी चुहिएर हैरान भएका थियो, अब त्यसको समाधान भयो ।’
उच्च तहबाट विभिन्न आश्वासन पाएपनि वेवास्तामा परेका विस्थापितका लागि संघसंस्था र व्यक्ति जुट्न थालेपछि आवास निर्माण सुरु भएको हो । आवास निर्माणका लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार २ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग पाएको वडाअध्यक्ष प्रताप लामाले जानकारी दिए ।
आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो ।
स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने ।