

जोमसोममा पहाडी युद्धकला तालिम

जोमसोम – नेपाली सेना र विदेशी सेनालाई पहाडी युद्धकलाका साथै ढुंगा र हिउँमा बाँच्न चाहिने कला–कौशलसम्बन्धी ज्ञान दिने उद्देश्यले ‘हाइ अल्टिट्युड एन्ड माउन्टेन वारफेर’ तालिम सुरु गरिएको छ ।
जोमसोममा तैनाथ सेनाको उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी तालिम आजदेखि सुरु भएको हो । सो तालिमको उद्घाटन शिक्षालयका शिक्षाधिकृत महासेनानी सुरेश हमालले गरे ।
आउँदो असोज १ गतेसम्म सञ्चालन हुने तालिममा सेनाका शिक्षार्थी अधिकृत १६ र अन्य दर्जाबाट ६५ गरी ८१ जना सहभागी छन् । यस्तै, विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्य दर्जा शिक्षार्थी पाँचजना सहभागी भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।