

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीडन्त

काबुल – अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ ।
लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई उद्धृत गर्दै वीवीसीले जनाएको छ । अमेरिकी र व्रिटिस सेनाको केन्द्र बनेको हेलमण्डमा तालिवानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलै धक्का हुने छ ।
लस्करगाह विद्रोहीले कब्जामा लिएको पहिलो प्रान्तीय राजधानी हो । विद्रोहीहरुले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गर्ने कोशिस पनि जारी राखेका छन् । यस्तै अर्को शहर हेरातमा पनि लडाई जारी छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएपछि तालिवान विद्रोहीले आक्रमण तीव्र बनाउँदै आएका छन् । एजेन्सी