

दुई देशका सैनिकबीच मित्रता र एकताको सन्देश सञ्चार गर्न उत्तरी सिक्किममा हटलाइन स्थापना

काठमाडौं – भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन् । उत्तरी सिक्किमको कोङ्ग्रा लामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न हटलाइन सेवा शुरु गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।
हटलाइनको उद्घाटन गर्दै दुवै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान–प्रदान गरेका थिए । चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन सो हटलाइन शुरू भएको हो । हटलाइनबाट मित्रता र एकताको सन्देश आदान–प्रदान भएको भारतीय सेनाले जनाएको छ ।
करिब ३४ सय किलोमिटर सीमा निर्धारण हुन बाँकी रहेका भारत र चीनबीच गत वर्ष सीमामा तनाव बढेको थियो । गत वर्ष गल्वान उपत्यकामा भएको झडपमा दुवै देशका सैनिक मारिएका थिए । पछिल्लो समय दुवै देशले तनावलाई मत्थर गर्न प्रयास गरिरहेको बताएका छन् । एजेन्सी