म्याग्दी पनि शुन्य संक्रमितको जिल्ला, हालसम्मका ४६ संक्रमित डिस्चार्ज

म्याग्दी । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।

हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले ‘हाललाई कोरोनामुक्त जिल्ला’ मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको सुनाए । ‘एक्टिभ केस ६ जनामात्र थियो । उनीहरुको पनि भर्खरै प्राप्त रिपोर्ट नेगेटिभ नै आयो,’ उनले भने, ‘अब अर्को केश नभेटिँदासम्म कोरोनामुक्त जिल्ला मानेका छौं ।’

म्याग्दीमा जेठको दोस्रो साता पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता भेटिएका ४६ जना सबैले कोरोनामुक्त भइसकेका छन् ।

म्याग्दीमा हाल ६४ जना क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा रहेकामध्ये ३२ जनाको नतिजा आउन बाँकी रहेको र अन्यको शुक्रबार नै नतिजा नेगेटिभ आएको जनाइएको छ ।

गण्डकी प्रदेशमा १ हजार ५८७ कोरोना संक्रमित छन् । जसमध्ये १ हजार ३८३ जना कोरोना निको भई घर फर्किसकेका छन् । प्रदेशमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *