

बाढीले घट्टसहित महिलालाई बगाउँदा एककाे मृत्यु, दुई जना भागेर बचे

जुम्ला – जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्टसहित एक अपाङ्गता भएकी महिलालाई बगाउँदा मृत्यु भएको छ । बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका–३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताए । पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनलाई बगाएको हो ।
उनीसँगै घट्ट गएका मुनशोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाको शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बोहराले बताए ।
बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिएका छन् । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताएका छन् ।