

कालीगण्डकी–तिनाउ डाइभर्सनबारे काठमाडौंमा अन्तरक्रिया हुँदै

काठमाडौं । सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना निर्माणका लागि कार्यालय सञ्चालनमा ल्याएसँगै विभिन्न किसिमका विरोधका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
कालीगण्डकीका तल्लो तटीय भेगमा बसोबास गर्ने स्थानीयहरुले उक्त योजनाको विरोध गर्दै आएका छन् । कालीगण्डकीको प्राकृतिक बहाबलाई अवरुद्ध गरी तल्लो तटीय स्थानीयको दैनिक जीवनयापनलाई प्रभाव पार्नेगरी सञ्चालनमा ल्याउने भनि योजना बनाइएकोमा विभिन्न विरोधका कार्यक्रमहरु गरिँदै आएको छ ।
यसै विषयमा कालीगण्डकी एकीकृत विकास केन्द्रले राजधानीमा डाइभर्सनसम्बन्धी विशेष छलफल र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कालीगण्डकी नदीको संरक्षण र गण्डकी उपत्यकाको अवधारणासहित अघि बढीरहेको कालीगण्डकी एकीकृत विकास केन्द्रले कालीगण्डकीको प्राकृतिक बहाबलाई रोक्ने सम्बन्धमा सो क्षेत्रबाट काठमाडौं आई बसोबास गर्ने सम्पूर्ण स्थानीयको सहभागीतासहित छलफल गर्न लागेको स्थानीय समाजसेवी बुद्धिमान श्रेष्ठले बताए ।
भोली अर्थात् बुधबार कान्तिपुर डेन्टल अस्पतालको सभाहलमा दिउँसो ३ बजेका लागि समय तोकि आयोजना गरिन लागेको छलफलमा सम्पूर्णलाई उपस्थितिको लागि अनुरोध गरिएको पनि श्रेष्ठले बताए ।
यसैबीच उक्त डाइभर्सनका बारेमा रुपन्देहीको बुटवलमा पनि विभिन्न विरोधका कार्यक्रमहरु आयोजना हुँदै आएका छन् ।
विशेष गरी कालीगण्डकीको राम्दीभन्दा मुनी स्याङ्जाको गल्याङ नगरपालिकाको खाडा र पाल्पाको रम्भा गाउँपालिकाको असेर्दी भन्ने स्थानमा ड्याम बनाई कालीगण्डकीको पानी तिनाउ लैजाने योजना सरकारको रहेको छ ।