

खोलाले बगाएर तनहुँमा एक वृद्ध बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर शुक्रबार एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।
खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।
त्यस्तै जिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो ।
आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ ।