

बाढीले गैंडाकोटमा डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।
सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।
अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनःनिर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ । सडकदेखि उत्तरतर्फको भागसमेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ । राजमार्ग फराकिलो पार्ने क्रममा गैंडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चारवटा डाइभर्सन बनाइएको थियो ।