बौंदीकाली जाने कालीगण्डकीको पक्की पुल धरापमा, बौंदीखोलामा निर्माणाधीन पुल बगायो (भिडियोसहित)



बौंदीकाली । सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपुर जिल्लाको बौदीखोला गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका जोड्ने पुल धराप बनेको छ । बाढीले कालीगण्डकी पक्की पुलको तनहुँतिरको ग्याबिन बगाएको बौंदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

त्यस्तै बाढीले बौंदीखोलाको शेरामा निर्माणाधीन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए । प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।

यसैबीच अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए ।

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनलाइ गाउँपालिकाले रोक लगाएको स्थानीय तुल श्रेष्ठले बताए । श्रेष्ठले वर्षाको सुरू मै डेढगाउँबासीले ठूलो नोक्सान ब्यहाेर्नु परेको बताए । यसबाट डेढगाउँलाइ बजारसँग जाेड्ने माध्यमनै टुटेको पनि बताए । ‘वर्षाको बेला बाटाे अवरूद्ध हुँदा सामानहरूको पनि अभाव हुने हो कि भन्ने चिन्ता बढेको छ,’ डेढगाउँमै पहिलोपटक गुणस्तरीय ग्रोसरी सञ्चालनमा ल्याएका श्रेष्ठले बताए ।

यसैबीच कालीगण्डकी करिडोरअन्तर्गतका विभिन्न स्थानमा गएको पहिरोले रामपुर हुँदै डेढगाउँ र डेढगाउँबाट बुलिङ हुँदै गैंडाकोट जाने सडक पनि अवरुद्ध भएको स्थानीय उज्वल ओझाले बताए । वर्षाको सुरुमै बौंदीकालीलाई तराई र तनहुँको भिमाद जोड्ने सडक पहिरोका कारणले रोकिएपछि व्यापार व्यावसाय सञ्चालनमा समस्या उत्पन्न हुने पनि ओझाले बताए ।

बाढीका कारणा बाैंदीकालीभित्रका सडक सञ्जाल पनि तहसनहस भएका छन् । डेढगाउँबाट वडा नं. ३ सिउनतर्फ जाने बाटाेमा पनि विभिन्न ठाउँमा पहिरो जानुका साथै रूखहरू लडेर बाटाे अवरूद्ध गरेको जनाइएको छ ।

भिडियोः

भिडियोः तुल श्रेष्ठ/बाैंदीकाली