देशभर बाढीको ‘जगजगी’, उच्च सतर्कताका लागि यी क्षेत्रमा बजाइयो ‘साइरन’
कास्की। पछिल्ला दिनमा वर्षा सुरु भएसँगै नेपालका विभिन्न भागमा बाढी पहिरो आउने खतरा देखिएको छ । पछिल्लो २४ घन्टादेखि अत्याधिक पानी परिरहेकोले गण्डकी प्रदेशको कास्की, पर्वत, तनहुँ नवलपुरलगायतका क्षेत्रमा बाढी आउने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएसँगै ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको महाशाखाले जनाएको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने र आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेकोले आगामी २४ घन्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले असार ३ गतेसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।