

बाढी पहिरोका कारण लमजुङमा १०९ घर विस्थापित

लमजुङ । लमजुङमा पहिराले १०९ घर विस्थापित भएका छन् । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिकाको वडा नं। ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन् ।
त्यस्तै, वडा नं। ३ सूर्यपालका पाँच, वडा नं। २ प्रजालुटारका तीन घर, वडा नं।४ चर्दीमा एक घर र वडा नं। १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ । विस्थापितमध्येलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ ।
यस वर्षकै हालसम्म सबैभन्दा बढी घर विस्थापित सो नगरपालिकामा भएको प्रहरीको भनाइ छ । पहिराले मानविय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए ।