

कोरियामै अस्ताए रामेछापका विष्णु

सउल – रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् ।
उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए ।
आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए ।
उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डिएको अवस्थामा भेटेका थिए ।
विष्णुलाई झुण्डिएको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ । घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको छ ।
मृतककी श्रीमती, एक छोरी र बुबाआमा छन्। श्रेष्ठ विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन)मा परी औषधि खाइरहेका थिए । उनी आफ्नो औषधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।