

विद्यालय बन्द गर्ने सरकारको प्रस्तावप्रति प्याब्सनको असन्तुष्टि

काठमाडौं – कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गर्दा सरकारले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव अघि सारेकोप्रति निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को असन्तुष्टि रहेको छ ।
आज विज्ञप्ति सार्वजनिक गर्दै प्याब्सनले सरकारले यस्तो प्रस्ताव गरेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै असन्तुष्टि जनाएको हो । प्याब्सनका अध्यक्ष कुमार घिमिरे र महासचिव टीकाराम पुरीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सरकारको प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयको औपचारिक पढाई बन्द गरेर अनलाइनबाट पठनपाठन सुरु गर्ने विषयमा छलफल गरेपछि निजी विद्यालय सञ्चालकको विज्ञप्ति आएको हो । सीसीएमसीमा छलफल भए पनि यो विषयको निर्णय भइसकेको छैन । सीसीएमसीको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि निर्णय हुन्छ ।
त्यो प्रक्रिया अगाडि नबढ्दै निजी विद्यालय सञ्चालकले आपत्ति जनाएका हुन् । प्याब्सनले कोरोना त्रासका नाममा विद्यालय बन्द गर्नु ठिक नभएको भन्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठनलाई निरन्तरता दिनु उचित हुने बताएको छ ।