

भोलिदेखि ४ दिनका लागि देशभरका शिक्षण संस्था बन्द

काठमाडौं – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।