

घाइते सहचालकलाई कालीगण्डकीमा फाली हत्या गरेको आरोपमा एक पक्राउ, एक फरार

स्याङ्जा । दुर्घटनामा घाइते सहचालकलाई कालीगण्डकीमा फालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुनै पनि दुर्घटनामा परी घाइते भएकालाई अस्पताल लगेर उपचार गराउनुपर्नेमा उल्टै हत्या गरी नदीमा फालेको आरोपमा प्रहरीले स्याङजाको साँखरबाट एक ट्याक्टर सहचालकलाई पक्राउ गरेको छ ।
प्रहरीले गत चैत्र ५ गते राती ८ बजे गल्याङ नगरपालिका वडा नं.९ पारीचौरस्थित बेलचौर–साँखर कच्ची सडक खण्डमा गल्याङ नगरपालिका वडा नं. ८ बस्ने अमित परियारले चलाएको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक गणेश गाह घाइते भएकोमा निजलाई उपचार गर्नुको सट्टा कालीगण्डकीमा फालेको आरोपमा अर्का ट्याक्टरका सहचालक सुनिल राना पक्राउ परेका हुन् ।
उक्त घटनामा चालक परियार र सहचालक रानाले गाहलाई घाइते अवस्थामा नै कालीगण्डकीमा फालेको आशंका गरिएको छ । निज गाहाको अवस्था अहिलेसम्म अज्ञात नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी रहेको र हत्यामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक अमित परियार भने फरार रहेको जनाएको छ ।
घाइते गाहालाई ट्याक्टरमा साखँरघाट कालिगण्डकी नदीमा लगेर फालेको सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत सहितको टोली खटिई खोजतसाल गर्दा वेपत्ता गणेश गाहा फेला नपरेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होमिन्द्र बोगटीले वताए।
घटनामा संलग्न रहेको आरोप लागेका ट्याक्टरका सहचालक सुनिल रानालाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर ‘कर्तव्य ज्यान’ मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको एसपी बोगटीले जनाए।
फरार ट्याक्टर चालक अमित परियारको खोजी कार्य थालिएको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको पनि उनले वताए।