

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

तनहुँ – खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराएको हो ।
उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ।
‘बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका हो’, सहायक प्रजिअ बरालले भने, ‘उक्त उद्योगले उद्देश्य विपरीतका काम गरेको अनुगमनबाट देखिएको छ ।’ उक्त उद्योगमा सामान खरिदको बिलसमेत नभेटिएको बरालले बताए । अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाईलगायतका अखाद्य वस्तु नष्ट गरिएको छ ।
अनुगमनका क्रममा उद्योगले साइनबोर्ड नराखेको, उत्पादनमा लेबल विवरण पूर्ण नराखेको र भण्डारण स्थलमा रहेका कच्चा खाद्य पदार्थमा लेबल नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिए ।