

विप्लव समूहसँग वार्ता गर्दै सरकार

काठमाडौं – सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखिको वार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ ।
सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् । मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजे औपचारिक वार्ता शुरू गरेको जनाइएको छ।
सरकारले गृहमन्त्री थापाको नेतृत्वमा र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।
वार्ताका लागि विप्लव समूहको दुई शर्त
१) २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राखेको छ ।
२) पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने (विप्लव समूहका एक सय २६ जना नेता–कार्यकर्ता जेलमा, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ) छाडिनु पर्ने शर्त अघि सारेको छ ।
वार्ताका लागि दुई एजेण्डा
१) संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार ।
२) अहिलेको व्यवस्थाविरुद्ध संंघर्ष गरेको दाबीसहित वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्वारा फैसला (जनमत संग्रह) गर्ने ।