

वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका युवक चरेससहित पक्राउ

पर्सा – वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका एक युवकलाई प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।
कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् ।
मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।