

रघुजी पन्तविरुद्ध कानुनी प्रक्रियामा अदालत जानेः कोमल वली

काठमाडौं – राष्ट्रिय सभा सदस्य कोमल वलीले दाहाल – नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने बताएकी छिन् । दाङमा रहेकी सांसद वलीले काठमाडौंमा आइसकेपछि वकिलसँग परामर्श गरेर कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएकी छिन् ।
एक कार्यक्रममा नेता पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद भएको भन्दै तिक्तता पोखेका थिए ।
पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइसकेकी छिन् । नेता पन्तको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला सांसद वलीले कानुनी बाटो रोज्ने प्रतिक्रिया दिएकी हुन् ।