गाउँ ब्लक जग्गा फुकुवा भएपछि लहानबासी खुशी
सिराहा । जिल्लाको लहान नगरपालिकाको गाउँ ब्लक जग्गा फुकुवा भएको छ । मुलुककै ठूलो नगरपालिका रहेको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको अथक प्रयासपछि लामो समयपछि गाउँ ब्लक जग्गा फुकुवाभएको हो । मेयर चौधरीको यस प्रयासपछि लामोसमयदेखि रहेको विवाद समाधान भएपछि नगरबासीले मेयर चौधरीको प्रशंसा गरेका छन् ।
मेयर चौधरीको यो प्रयासबाट सम्पन्न यस कार्यले कार्य ऐतिहासिक उपलब्धि भएको महसुस गर्दै स्थानीयहरूले अब लहानमा विकासको लहर आउने बताइरहेका छन् । नगरभित्र अहिले चौक चौराहा, सार्वजनिक स्थलहरू, चिया पसल लगायत हरेक ठाउँ यस विषयले यति बेला चर्चा पाउनु भनेको जनता खुशी भएको प्रष्ट हुन्छ।
गाउँ ब्लक जग्गाको स्वामित्व सुनिश्चित भएपछि विकास, पूर्वाधार निर्माण तथा लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। यो एतिहासिक निर्णयले लहानबासीलाई राहत दिएको छ।नगरपालिकाका सम्पूर्ण गाउँ ब्लक जग्गासम्बन्धी समस्या समाधान हुने भएपछि दर्जनौ वडा अध्यक्ष तथा स्थानीयवासी खुसी भएका छन्।
भूमिसुधारमन्त्री बलराम अधिकारीले गत साता मन्त्रीस्तरीय निर्णयमार्फत भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
सो विभागले मालपोत तथा नापी कार्यालय लहानलाई ६ बुँदे निर्देशन पठाएको छ। यससँगै वर्षौंदेखि लालपुर्जा नपाई समस्यामा परेका स्थानीयले अब छिट्टै जग्गाको दर्ता तथा स्वामित्व पाउने विश्वास गरेका छन् ।
